हुन त नेपालमा जहिले पनि नागरिक सर्वोच्चता छ । जसले जसलाई कुटे पनि हुन्छ । सरकार, प्रशासन, नियम, कानुन आदि कार्यकर्ता देखि नेतासम्मका खेलौना हुन। सक्नेले जिल्लाको सिडिओ पिटे पनि हुन्छ, नसक्नेले चाहीं आंफै पिटाई खानु पर्छ । वास्तविक प्रजातन्त्र पनि यहि न हो, जसले भोट धेरै ल्याउंछ उसैले हाली मुहाली गर्छ ।
अस्ति देखि नेपाल बन्द थियो । सरकारमा हुदा अहिलेका बन्द आयोजकहरु आंफै बन्द नगर्ने संकल्प ल्याउने प्रस्तावका पक्षपोषक थिए । नागरिक सर्वोच्चताको वकालत गरेको ढोंग रच्ने माओवादी नामको पार्टीले नागरिक सर्वोच्चताको लागि नै बन्द गरेको रे । नेपालको अन्तरिम संविधानको भाग ३ को दफा ३ „ङ“ र „च“ अनुसार स्वतन्त्रतापुर्वक सार्वजनिक आवत जावत र पेशा गरेर खान पाउनु पर्ने व्यवस्था गरेको छ (हेर्नुस तस्वीर)।
यसै संविधानको खिल्ली उडाउंदै देशलाई रण क्षेत्रमा परिणत गर्ने अनि सभासदहरु समेत अराजक भीडको अगाडि लाग्ने गजबका चटकबाज हैनन त? सडकका लागि पनि अयोग्यहरु सभासद बने पछि के हुन्छ ? के तपाईहरु बसेका अरु देशमा पनि यस्तै सभासद छन ? यी सभासदहरु मनग्य तलब सहित संसद नजादाको दिनको पनि भत्ता खान्छन । यिनका नेताहरु लक्जरी गाडि विना यात्रा गर्दैनन तर यिनिहरु अरुको वर्तमान र भविष्य तहसनहस पार्न कटिवध्द छन ।
वास्तविक नागरिकहरु जसका लागि लडाई लडेको भनेर भन्नेहरु भन्ने गर्छन, कसरी खाली पेटमा „विजय“ मनाइरहेका छन र कति „खुशी“ छन अर्को तस्वीरले देखाउंछ । अनि अन्त्यमा समापनको दिन प्रचण्डले भनीछाडे „अव वार्ता भारतसित हुन्छ“ । पहिले फोरमका यादवले अरु पार्टीलाई गाली गर्ने बहानामा भारतलाई माथि पारेर उसको अस्तित्वलाई स्विकारेका थिए । तर अहिले सवै भन्दा ठुलो पार्टी र त्यत्रो मासले नै ओपचारिक रुपमा भारतको दासत्व स्विकारेर भारतलाई हसाएको छ । यो प्रचण्डको अज्ञानता हो या ग्रयाण्ड डिजाइनको कडी थाहा भएन तर यसले नेपाली स्वतन्त्रतामाथि खुलेआम लोप्पा ख्वाएको छ । हुन त भारतले नै माओबादि शरण देखि १२ बुंदे संझौता सम्म सबै रेखदेख गरिदिंदै आएको थियो त्यसैले यो प्रचण्डको रोदन सामान्य होला तर नागरिक सर्वोच्चताको पछाडि लुकेको यो „त्वं शरणको घोषणा“ले फेरि पनि नेपाल प्रति गर्व गर्ने नेपालीहरुलाई पक्कै पनि लात हानेको छ ।