यौनसमस्याका साक्षी बस्दा
28/04/2010 09:18:00 Naya Patrika
Font size:
लक्ष्मी चौधरी
टेलिभिजन कार्यक्रम सहजकर्ता रात परेपछि (नेपाल वान)
नेपाल वान टेलिभिजनमा राति १०:३० बजे प्रत्यक्ष प्रसारण हुने यौनसम्बन्धी कार्यक्रम रात परेपछि चलाएर घर फर्किँदै गर्दा मन भारी भएको हुन्छ । सधैँ मध्यरातमा घर पुग्छु । कार्यक्रममा सोधिएका यौनसम्बन्धी अनेकौँ जिज्ञासा सुनेर म सधैँ एउटै निष्कर्षमा पुग्छु- अधिकांश नेपाली कुनै न कुनै यौनसमस्याले पीडित छन् । दर्शकका यौनसम्बन्धी समस्या मेरो माध्यमबाट समाधान हुँदा एकप्रकारको सन्तुष्टि मिल्छ ।
यौनसमस्या मान्छेको प्रमुख समस्या हो । सबैसँग खुलस्त भन्न नमिल्ने अप्ठयारो समस्या । श्रीमान्-श्रीमती वा आफ्ना यौनसाथीसँग मात्रै भन्न मिल्ने समस्या मेरो कार्यक्रममा निर्धक्क सुनाउँछन् । कार्यक्रममा फोन गर्नेले डाक्टरबाट समाधान सुनाउँदा निकै लामो बाटोदेखि बोकिल्याएको भारी सधैँका लागि बिसाउन पाएजस्तो ठान्दा रहेछन् । यौनको सम्झना मात्रैले पनि मलाई कुनै रोमान्टिक फिल्मको दृश्य मेरो अघि सल्बलाएजस्तो लाग्छ ।
मैले रात परेपछि चलाउन थालेको सात महिना भयो । पहिलो दिन म लाज र डरले निकै राती भएकी थिएँ । मुटु जोडजोडले धड्किएको थियो । कार्यक्रममा विवाहितले बढी फोन गर्छन् । तीसदेखि चालीस वर्ष उमेर समूहले बढी फोन गर्छन् । नेपालमै पहिलोपटक टेलिभिजनमा प्रयोगमा ल्याइएको यस कार्यक्रमले धेरैको यौनसमस्या हल गर्न सहयोग गरेको छ र उनीहरूलाई तनावबाट मुक्ति दिएको छ । यस कार्यक्रममा धेरै महिलाले फोन गर्छन् र आफ्नो यौनसमस्या बताउँछन् । डराउने समस्या उनीहरूमा हुँदोरहेछ । हाम्रो कार्यक्रमको उद्देश्य श्रीमान्-श्रीमतीकोे यौनसमस्यालाई समाधान गर्न पहल गर्नु हो ।
मैले थाहा पाएअनुसार महिलामा यौनचाहना कम हुँदोरहेछ । हाम्रो कार्यक्रममा यौनशास्त्री डाक्टर सुबोधकुमार पोखरेलले दर्शकको यौनजिज्ञासा र समस्यालाई समाधान गर्नुहुन्छ । कार्यक्रममा यौन र महिलाका बाँझोपनसम्बन्धी समस्या धेरै आउँछन् । पुरुषहरू शीघ्र स्खलनबारे बढी सोध्छन् र यसले आफ्नो यौनजीवन खराब भएको निष्कर्ष निकाल्छन् । महिलाहरू भने पुरुषहरूमा लिंग-उत्तेजना नभएकाले आफूहरू सन्तुष्टिबाट बाहिर बस्नुपर्ने अवस्था सृजना भएको सुनाउँछन् । त्यस्तै, उनीहरू बाँझोपन, पाठेघरमा संक्रमण, सेतो पानी बग्ने समस्या, ब्रेस्ट सानो भएको र श्रीमान्ले यसैकारण सन्तुष्टि नपाएको जस्ता समस्या सुनाउँछन् ।
०००
एकदिन एउटी महिला फोनमै रोएकी थिइन् । श्रीमान्ले महिनाको एकपटक मात्रै यौन सम्पर्क गर्ने गरेको र बच्चा किन भएन भनेर झगडा गर्ने गरेको सुनाइन् । श्रीमतीलाई उनीसँग सुत्न सधै डर लाग्थ्यो रे ।
एकदिन एउटी अविवाहित २३ वर्षीया केटीले ५५ वर्षको मान्छेसँग दैनिक आफ्नो सम्पर्क भएको र यसले आफ्नो भावी वैवाहिक जीवनमा असर पार्ला कि नपार्ला भन्ने जिज्ञासा राखेकी थिइन् । खासमा, विवाहअघिको सम्पर्क मलाई उचित लाग्दैन । अहिले त १४/१५ वर्षको उमेरैदेखि यौनसम्बन्ध बनाउने चलन हुर्कँदै छ । त्यसले समाजलाई ठीक दिशातिर लैजाँदैन । केही महिला ओरल सेक्स गर्ने बानी भएको र यसले स्वास्थ्यमा कस्तो समस्या निम्त्याउला भनेर सोध्छन् । एउटी महिलाले 'मलाई यौनसम्पर्कमा रुचि नै छैन र मेरैअघि श्रीमान्ले हस्तमैथुन गर्दा नरमाइलो लाग्छ,' भनी दुःख व्यक्त गरेकी थिइन् । कति पुरुष श्रीमतीलाई कहिल्यै सन्तुष्टि दिन सकिनँ भन्दै दिक्क मान्छन् । भर्खरका केटाहरू अत्यधिक हस्तमैथुन गर्ने गरेको बताउँछन् र त्यसो गर्नु ठीक हो कि होइन भनेर सोध्छन् । केही अविवाहित केटीहरू 'आज पहिलोपटक यौनसम्पर्क गरेको र योनीबाट धेरै रगत आएको' सुनाउँछन् । महिनावारी गडबडी र सानो स्तन थुप्रै महिलाका समस्या हुन् । केही भने सन्तान जन्माउन चाहँदा-चाहँदै पनि मिसक्यारिज (गर्भ तुहिनु) भएको दुखेसो गर्छन् ।
खासमा, यौन विवाहित र अविवाहित सबैलाई चाहिने कुरा हो । कार्यक्रममा मेरा आफन्तले पनि फोन गरेर आफ्ना समस्या निर्धक्क सुनाउँछन् । कतिले आफ्नो एउटा मात्र अन्डकोष भएको र बच्चा जन्माउन समस्या होला कि नहोला ? भन्दै सोध्छन् । एकजनाले यौनमा कहिल्यै उत्तेजना नभएर विवाह नगरेको सुनाए । एकदिन एउटी विवाह फिक्स भइसकेकी केटीले 'अहिलेसम्म महिनावारी एकपटक पनि नभएको,' भन्दै फोन गरिन् ।
एउटा उट्पटयाङ केटोले फोन गरेर राम्री केटी देख्यो कि उसैको अघि हस्तमैथुन गर्न मन लाग्ने गरेको सुनायो । म खुब हाँसेँ । मलाई उसको कुरामा विश्वास लागेन । समलिंगीले पनि फोन गरेर अनेक जिज्ञासा राख्छन् । एउटी ५५ वर्षकी आइमाईले 'गर्भ रहयो' भनेर फोन गरेकी थिइन् । केही दिनअघि कलंकीबाट एकजना विवाहित पुरुषले फोन गरेका थिए । भनेका थिए, 'हाम्रो पहिले छोरी थिई । पछि जुम्ल्याहा पायौँ । धेरै वर्षसम्म मेरी श्रीमतीको रजस्वला भएन र केही साधन प्रयोग नगरी सम्पर्क गरिरहयौँ र फेरि छोरी जन्मिई ।' यस्ता थरीथरीका जिज्ञासा राख्छन् कार्यक्रममा । खासमा महिला रजस्वला नभए पनि डिम्ब निस्कन्छ र त्यसवेला गर्भ रहन्छ ।
०००
रात परेपछिमा यौनबारे यति धेरै समस्या भएका फोन आउँछन् कि उनीहरूका शब्दले म त्यसैत्यसै दुःखी हुन्छु । कोहीकोही त भर्खर विवाह भएका श्रीमान् वा श्रीमतीले पनि फोन गर्छन् र यौनसमस्याबारे भन्छन् । एकजनाले सप्तरीबाट फोन गरेर भनेका थिए, 'मेरो बिहे भएको चार दिनमात्रै भयो । तर, यौनसम्पर्कका लागि श्रीमती तयार हुन्नन् । उनमा उत्तेजना नै हुँदैन । म के गरूँ ?' डाक्टरले श्रीमतीलाई उत्तेजनामा ल्याउन केही सल्लाह दिएपछि उनी सन्तुष्ट भए । अहिले श्रीमान्-श्रीमतीको अवस्था कस्तो होला ? मलाई थाहा छैन । मलाई के लाग्छ भने यौनको सामान्य समस्याले पनि श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा चिसोपन आउन सक्छ । मैले कतिसम्म देखेको छु भने श्रीमतीले यौनसम्पर्कमा रुचि नदेखाएपछि श्रीमान्ले डिभोर्स गर्न चाहेको र अन्ततः उनीहरूको डिभोर्स पनि भएको । त्यसैले यौन भनेको श्रीमान्-श्रीमतीबीचको समझदारी पनि हो । त्यो समझदारीविना जीवन अघि बढ्न नसक्ने रहेछ ।
कहिलेकाहीँ एचआइभी भएकाले पनि फोन गर्छन् । उनीहरू जालझेलमा परेर एचआइभी भएकासँग विवाह गर्नुपरेको दुखेसो पोख्छन् । टेलिभिजनबाट म धेरैलाई यस्ता कुरामा बिहेअघि नै विचार पुर्याउन अनुरोध गर्छु । श्रीमान् एचआइभी बोकेर विदेशबाट फर्केको, आफ्नो जीवन र जवानी सबै खेर गएको भन्दै धर्धरी रुन्छन् कति महिला । अब आफ्नो यौनजीवन कसरी अघि बढाउने भन्ने पनि सोध्छन् । यस्ता कुरा सुन्दा म निकै दुःखी हुन्छु र उनीहरूलाई सम्झाउँछु । आफ्ना कारणले मात्र त मान्छेले कति नै दुःख पाउँछ र ? अरूसँगको व्यवहार र सम्पर्कबाट पनि दुःख पाउने रहेछ मान्छेले । श्रीमती जति नै सतर्क भए पनि श्रीमान्ले सतर्कता नअपनाइदिएपछि के लाग्छ र ? एकजना मात्र चनाखो भएर नहुँदोरहेछ । आफू फुटपाथमै हिँडिरहे पनि गाडी हाँक्नेले ल्याएर ठोकाइदियो भने के गर्ने ? यौनजीवन र सतर्कता भन्ने चीज पनि त्यस्तै रहेछ । यौन त्यति सस्तो कुरा होइन, जहाँ-जोसँग पनि आफूलाई समर्पित गर्दै हिँड्न । यसको आफ्नै महत्त्व छ । यौनसाथीबाहेक अरूलाई आफ्नो जिउज्यान सुम्पनुहुन्न । अन्यथा, सधैँका लागि यौनजीवन नै खतरामा पर्न सक्छ । यौनमा सतर्क भइएन भने अनेक रोग लाग्छन्, जसले समाजको संरचनामै असर पुर्याउन सक्छन् । त्यसैले सबैलाई सतर्क हुन अनुरोध गर्छु ।
एउटी केटीले भनेकी थिइन्, 'बिहेको प्रस्ताव आएपछि एकाएक एउटा ठूलो संसार आँखाअघि आएर उभिएजस्तो लाग्यो । मैले घर, गृहस्थी, छोराछोरी, अनेक कुरा एकैचोटि देखेँ । तर, उनी (श्रीमान्) यौनरोगी रहेछन् । उनले मलाई कहिल्यै सन्तुष्टि दिन सकेनन् । उनमा शीघ्रस्खलनको समस्या छ । म उत्तेजनामा आउन नपाई उनी शिथिल भइसकेका हुन्छन् । बिहेपछि मेरो जीवन चिरिएको र ध्वस्त भएको अनुभव गरेँ । उनीसँग सम्पर्क गर्ने वेला खुब तातेकी म एकैछिन्मा सेलाउँछु, म के गरूँ ?' उनी यति विक्षिप्त थिइन् कि मेरो कुरा बुझ्न सक्ने अवस्थामा थिइनन् । यौनभोकले असाध्यै गाँजेकी जस्ती थिइन् । यस्ता प्रश्न मेरा लागि नौला होइनन् ।
०००
मलाई भेटेरै समस्या राख्ने केटीहरू पनि आउँछन् । म उनीहरूका समस्या टिपेर डाक्टरलाई सुनाउँछु । एउटी थिइन्, करकापमा परेर विवाह गरेकी । उनले भनेकी थिइन्, 'बिहेअगाडि म प्रेमीसँग सम्पर्क गर्थेँ । तर, मैले नचाहेको केटोसँग विवाह भयो । म अहिले पनि पूर्वप्रेमीसँग यौनसम्बन्ध कायम राख्न चाहन्छु ।' म अक्क न बक्क परेँ । यस्तो यौनस्वच्छन्दताले सामाजिक संरचनालाई नराम्ररी भत्काउन सक्छ । यौनस्वतन्त्रताको ध्वनि मात्र घन्केर के होला र ?
हाम्रा गाउँघरतिर गाईका लागि राम्रो साँढे खोजिन्छ । कुखुरालाई भाले लगाउँदा समेत राम्रो नश्लको भाले खोजिन्छ । तर, छोराछोरीलाई भने किन आफूले चाहेको रोज्न नदिएको ? इच्छाअनुसार रोजी-रोजी हट्टाकट्टा केटाको छनोट गर्ने अधिकार प्रत्येक छोरीलाई छ । के कुन्तीले पालैपालो धर्मराज, वायु, अश्विनीकुमारहरूसँग सम्पर्क गरेर वीर, ज्ञानी, तपस्वी छोराहरू जन्माएको कथा हाम्रा पुराणमा छैनन् ?
आज गाउँगाउँबाट विवाहित महिला वैदेशिक रोजगारीमा गइरहेका छन् । अरब, इजरायलजस्ता मुलुकमा घरेलु कामदारका रूपमा गएका महिलाहरूको यौनजीवन कस्तो होला ? नेपाली चेलीलाई पहिला-पहिला झुक्याएर बम्बईका कोठीमा बेचिन्थे । अहिले पैसाका लागि महिला विदेश गएर यौनदासी भइरहेका छन् । उनीहरू नेपाल आउँदा अनेक रोग बोकेर आउँछन् । र, यता श्रीमान् यौन-असन्तुष्ट भएर श्रीमतीको पर्खाइमा बस्छन् ।
मेरो विवाह भएको एक वर्ष भयो । मलाई लाग्छ- यौनले शरीर मलिलो, पूर्ण र हलुंगो बनाउँछ ।